
१३ मंसिर, काठमाडौं । काठमाडौंमा आज यो वर्षकै बढी चिसो गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।
विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ८.५ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयता पश्चिमी वायुको प्रभावले बदली रहेको मौसम रातिदेखि सफा भएसँगै तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताए । तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ ।
अबको केही दिन देशभरको मौसम सफा भई घाम लाग्ने बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १२ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ ।