१३ मंसिर, धनुषा । जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले वर्तमान सरकार इतिहासकै अराजक सरकार रहेको आरोप लगाएका छन् । विद्यापति स्मृति दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै जसपा नेता भण्डारीले वर्तमान सरकारमा अनुशासनहिनता अत्यधिक रहेकोले अराजकता बढेको बताए ।
कानुनी व्यवस्थालाई निरन्तरता दिने उद्देश्यका साथ नेपाली जनताले दुई तिहाईको बहुमत दिएर जनादेश दिए पनि भ्रष्टाचार, अनुशासन हिनता मुलुकमा बढेको बताए । नेता भण्डारीले देशमा शक्ति विकेन्द्रिकरणका लागि नेपाली जनताले संघीयता ल्याए पनि वर्तमान सरकारको नियतमा शंका लागिरहेको उल्लेख गरे ।
उनले भने ‘वर्तमान राजनीतिक प्रणाली संरक्षण गर्ने जुन सरकारको जिम्मा छ सोही सरकार राजनीतिक प्रणाली ध्वस्त पार्न उद्धत छ।’ अगाडि भने ‘वर्तमान सरकार नै संविधान ध्वस्त पार्ने षड्यन्त्रमा लागेको छ ।’ एक अर्को प्रसंगमा नेता भण्डारीले प्रदेश २ सरकारले अहिलेसम्म नामाकरण गर्न नसक्नु दुःखद विषय रहेको बताए ।
प्रदेश २ को नामाकरण भूगोलको आधारमा मात्र नभई भू-संस्कृतिलाई समेत समेटेर नामाकरण गर्नु आवश्यक रहेकोले सहमतिको आधारमा चाँडै नै नामाकरण गर्न प्रदेश सरकारलाई आग्रह गरे ।