
१३ मंसिर, जनकपुर । जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा विभिन्न माग राख्दै २८ दिनदेखि आमरण अनसनमा बसेका कर्मचारीले शनिबार ३ बुँदे सहमतिपछि अनशन तोडेका छन् ।
आमरण अनसनमा बसेका मेडिकल कलेजका कर्मचारीद्वय जानकीशरण यादव र कुलदीप साहलाई जुस खुवाएर अनशन अन्त्य गराइएको हो । अनशन तोडिएसँगै आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले जानकारी दिए ।
जानकी मेडिकल कलेज र कर्मचारीहरुबीच भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय धनुषामा भएको दुईपक्षीय सम्झौता पालना नभएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलन अवधिमा गरिएको सम्पूर्ण कारवाही, निलम्बन आदि फुकुवा गर्ने सहमतिसमेत भएको यादवले जानकारी दिए ।
त्यस्तै कलेज र कर्मचारीबीचको समस्या समाधान गर्न दुबै पक्षबाट २–२ जना प्रतिनिधि र धनुषा जिल्लाका स्वास्थ्यकर्मीहरुको अधिकारिक ट्रेड युनियनका अध्यक्षहरु सम्मलित कार्यदल मंसिर १७ गतेभित्र गठन गरी सम्पूर्ण समस्यामाथि छलफल गरी निराकरण गर्ने सहमति भएको हो । कर्मचारीहरु कलेजले विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दशैं खर्च र नियमित तलबभत्ता दिनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा थिए ।