१३ मंसिर, काठमाडौं । भारतको जम्मु र कश्मिर क्षेत्रमा शनिबार पहिलो चरणको निर्वाचन अन्तर्गत मतदान भएको छ । जिल्ला विकास परिषद् (डिडिसी) गठनका लागि शनिबार विहानदेखि मतदान भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समयानुसार विहान सुरु भएको मतदान दिउँसो २ बजेसम्ममा सम्पन्न गर्ने तय गरिएको थियो । केन्द्रीय सरकार मातहतमा रहेको कुल २८० निर्वाचन क्षेत्र मध्ये ४३ निर्वाचन क्षेत्रमा शनिबार पहिलो चरणको मतदान भएको हो ।
जम्मु र कश्मिरमा जिल्ला विकास परिषद्को निर्वाचन आठ चरणमा सम्पन्न गर्ने निर्वाचन कार्यालयले तालिका बनाएको छ । सवै चरणका निर्वाचन आगामी डिसेम्बर १९सम्ममा सम्पन्न हुने तालिका रहेको छ ।
त्यसैगरी गणना भने डिसेम्बर २२ देखि हुने निर्वाचन कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । जिल्ला विकास परिषद्सँगै खालि रहेका सहरी स्थानीय संयन्त्र (युएलबी)को २३४ सिटका लागि पनि निर्वाचन हुने जनाइएको छ ।
निर्वाचनका लागि नेस्नल कन्फ्रेन्स, पिपल्स डेमोक्रयाटिक पार्टी, पिपल्स कन्फ्रेन्स र सिपिआई(एम) पार्टीले गठबन्धन बनाएर प्रतिश्पर्धामा उत्रिएका छन् । निर्वाचनमा राष्ट्रिय पार्टीहरु भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय काँग्रेसले पनि आ आफ्ना उम्मेदबारहरु प्रतिश्पर्धामा उतारेका छन् ।
मतदानका क्रममा कोरोनाभाइरस सर्न नदिनका लागि आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाउन लगाइएको छ । स्वास्थ्य विभागका कर्मचारीहरुलाई परिचालन गरेर निर्वाचनमा संलग्न सवैलाई मापदण्ड पलना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयुक्त के के शर्माले जानकारी दिए ।