समाचार

प्रेमीसँग भाग्दा इज्जत जाने डरले सुपारी दिएर छोरीको हत्या, बाबुआमासहित ७ जना पक्राउ

samajik apradh

१४ मंसिर, रौतहट । रौतहटमा एक अभिभावकले सुपारी दिएरआफ्नै छोरीको हत्या गराएको तथ्य सार्बजनिक भएको छ । गएको कात्तिक २६ गते माधवनारायण नगरपालिका ७ लौकाहा बस्ने रामअयोध्या साह तेलीकी छोरी १७ वर्षीया अमृताकुमारी साहको आफ्नै घरमा सुतिरहेका बेला कञ्चटमा गोली हानी हत्या गरिएको थियो ।

अमृता पतिसँग सम्बन्धविच्छेदपछि आमाबुबाकै साथमा बस्दै आएकी थिइन् । पछिल्लो समय उनी प्रेममा परेको प्रहरीको भनाइ छ । छोरीले भागेर बिहे गरे आफ्नो इज्जत जाने ठानेर बुबा राअयोध्याले हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । छोरीको हत्याका लागि रामअयोध्याले सुटरलाई एक लाख रुपैयाँको सुपारी दिएको खुलासा भएको छ । प्रेम सम्बन्धमा रहेकी अमृताले प्रेमीसँग भागेर विवाह गर्दा इज्जत जाने डरले उनीहरुले हत्या गराएको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतबार आयोजित पत्रकार सम्मेलनमा आरोपित आमा, बाबु र हत्यामा संलग्न अन्य ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मृतक किशोरीका आमाबुवाका अतिरिक्त देवाही गोनाही नगरपालिका–२ करुनिया लक्ष्मिनियाका ६० वर्षीय शेख अलियास, सोही ठाउँका ४० वर्षीय बहुदल भने ईस्लाम अन्सारी, ३५ वर्षीय शेख ईन्ताज, ५० वर्षीय कैमुल देवान र परोहा नगरपालिका–४ का ४५ वर्षीय छोटेलाल साह छन् । किशोरीका आमाबुबाले हत्याको योजना बनाएर अन्य पाँच आरोपितलाई हत्याबापत पैसाको प्रस्ताव गरेको र उनीहरुले पैसा लिएर ती किशोरीको हत्या गरेको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार आरोपित सबैले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । उनीहरुमाथि ज्यान सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट अनुसन्धानका लागि म्याद लिइएको र थप अनुसंधान भइरहेको एसपी शाहले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस