
१५ मंसिर, काठमाडौं । नेकपाका दुई अध्यक्षबीच आरोपरप्रत्यारोपसहित छुट्टाछुट्टै प्रस्ताव सचिवालयमा पेस भएपछि नेकपामा अब के होला ? विवादको छिनोफानो कसरी होला ? मंगलबारसम्म बैठक रोकेर अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल आआफ्नै तयारीमा जुटेका छन् ।
प्रधानमन्त्री ओली पक्षले अर्का अध्यक्ष दाहालको प्रस्तावलाई सचिवालयबाटै ढिसमिस कसरी बनाउने र त्यसलाई पार्टीका कुनै पनि कमिटीमा निर्णय प्रक्रियाबाट रोक्ने भन्ने रणनीति बनाउन छलफल थालेको छ । दाहाल पक्ष सचिवालयमा छलफल गर्दै दुवै प्रस्तावलाई कसरी स्थायी समिति र केन्द्रीय समितिमा लगी निर्णय प्रक्रियामा पुग्ने भन्नेमा केन्द्रित भएको छ ।
ओलीले शनिबार दाहालको प्रस्तावको जवाफ दिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत नेतासँग परामर्श गरेका थिए । ओलीको परामर्श आइतबार पनि उनै नेताहरूसँग जारी रह्यो ।
दाहालले खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसँग सामूहिक र ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन, मात्रिका यादवलगायत नेतासँग भेट गरे । ओलीनिकट स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङ दाहालको ‘आरोपपत्र’को प्रत्युत्तर प्रधानमन्त्रीले दिएपछि अब यसलाई यहीँ अन्त्य गरेर महाधिवेशनमा केन्द्रित भएर जानुपर्ने अबको तयारी रहेको बताउँछन् । ‘प्रचण्ड कमरेडको आरोपपत्रको प्रधानमन्त्रीले जवाफ दिनुभएको छ । त्यसलाई उहाँहरूले कसरी लिनुभएको छ ? उहाँहरूले जस्तोसुकै अपराध नै गरे पनि हामी अब त्यसरी जानु हुँदैन । शान्तपूर्वक, शिष्टपूर्वक उहाँहरूको आरोपको जवाफ दिएर आफ्नो पोजिसन स्पष्ट गर्ने काम भइसकेको छ’, गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता गुरुङ भन्छन् ।
उनी भन्छन्, ‘अब दायाँ–बायाँ होइन, ५ वर्ष सरकार चलाउन पाउने कुरामा तलमाथि कसैले गर्न पाउँदैन । महाधिवेशन गर्नेतिर छिटो गएर नेतृत्व चयन गरेर जानुपर्छ । महाधिवेशनबाटै अब सबै समस्या समाधान गर्ने गरी लाग्नुपर्छ भन्ने हाम्रो कुरा छ । अध्यक्ष तथा प्रधानमन्त्रीलाई पनि त्यही सुझाव हामीले दिएका छौं । अध्यक्षको पनि त्यही ढंगले कुरा आफ्नो जवाफदेखि सबै कुरामा आएको छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।