समाचार

दुर्व्यवहारको डरले लुक्न बाध्य संक्रमित

Corona isolation

१५ मंसिर, काठमाडौं । पोखरामा परिवारसहित डेरा गरी बस्ने एक युवक कोरोना भाइरस संक्रमण नहोस् भनेर निकै सजग थिए । जति सजगता अपनाए पनि उनलाई कात्तिक अन्तिम साता संक्रमण भइछाड्यो । लक्षण देखिएलगत्तै उनी डेरा छाडेर होटलको आइसोलेसन बसे । संक्रमणले गलाएपछि अस्पताल जानुपर्यो । आठ दिनपछि डिस्चार्ज भए पनि उनी डेरा जान सकेनन् । कारण, घरबेटी र छिमेकीको डर । अहिले उनी होटलमै स्वास्थ्य लाभ गरिरहेका छन् ।

रोगले च्यापेर कमजोर बनेका उनलाई परिवारको रेखदेखको खाँचो थियो तर घरबेटीदेखि डराउँदा उनले एक्लिएरै बस्नुप(यो । चिकित्सकले नेगेटिभ रिपोर्ट आइनसके पनि संक्रमण अवधि लामो भइसकेकाले अरूलाई सर्दैन भनेर सुझाउँदा समेत उनी डेरा फर्कन सकेनन् । घरबेटीले थाहा पाइहाले तुरुन्तै झिटीगुन्टा बोकेर हिँड्न बाध्य हुनुपर्ने भन्ने त्रास उनमा छ। एकातिर रोगको र अर्काेतिर घरबेटीको डर, त्यसमाथि परिवारलाई केही हुने हो कि भन्ने अर्को पिरलोले बढी नै तनाव हुने गरेको ती युवकले बताए ।

‘घरबेटीलाई थाहै नदिई म होटलमा आएर बसें । संक्रमणले च्यापेर आठ दिन अस्पताल बसेर पनि डिस्चार्जपछि डेरा जाने आँट आएको छैन,’ उनले भने । उनको परिवारमा पत्नी, छोरा र छोरी छन् र उनीहरू कसैमा संक्रमण छैन । ‘व्यक्तिगत कामले बाहिर गएको भनेर घरबेटीलाई ढाँटिएको छ,’ उनले भने, ‘कोरोना लुकाउनुहुँदैन भनेर सबैलाई भनिहिँड्ने म आफैंले त्यसलाई लुकाउनुपरेको छ ।’ उनले थपे, ‘संक्रमितले घरबेटी, छिमेकी, आफन्तबाट दुव्र्यवहार खेप्नुपरेको घटना हामीले सुनिरहेका छौं । त्यो त्रास मलाई पनि आइपर्यो । त्यसैले म खुल्न सकिनँ ।’

नदीपुरका सञ्जय मल्ल पत्नीलाई संक्रमण भएपछि आफ्नो परीक्षण गराउन प्रयोगशाला गए । प्रयोगशालामा रिपोर्ट लिन गएको बेला संयोगवश एक व्यक्तिसँग मल्लको भेट भयो । मास्क लगाएकाले मल्लले ती व्यक्ति को हुन् भनेर ठम्याउन सकेनन तर ती व्यक्तिले मल्लसँग चिनजान भएकाले प्रयोगशाला आउनुको कारण सोधे । मल्लले पिसिआरको रिपोर्ट लिन आएको बताए । ‘श्रीमतीको रिपोर्ट पोजेटिभ थियो । मेरो नेगेटिभ आयो भनेपछि ती व्यक्ति हत्तारिँदै टाढिए,’ मल्लले भने, ‘म त संक्रमित थिइनँ तर उनले मलाई नै संक्रमित ठाने र तत्कार भागे । अघि नै भन्नुपर्दैनथ्यो भन्दै गुनासो पनि गरे ।’ यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस