
१५ मंसिर, बिराटनगर । सुनसरीको दुहबीमा पाँच दिनदेखि बेपत्ता एक युवकको शव फेला परेको छ ।
सुनसरीको दुहबीमा मसिंर १० गतेदेखि बेपत्ता भएका किशोरको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान करिब ५ बजे दुहबी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा चौधरीको शव भेटिएको छ । कक्षा ११ मा अध्ययनरत चौधरीलाई अपहरण गरी हत्या गरिएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । ‘मृतकको अनुहार, टाउको र संवेदनशील अङ्गमा गहिरो चोट देखिन्छ । ढुङ्गाले हानेर हत्या गरेको हुनसक्छ,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले भने ।
बेपत्ता भएकै दिन मृतक सुजनको आमाको मोबाइलमा अज्ञात व्यक्तिले ‘तिम्रो छोरा म सँग छ, पैसा दिनुपर्छ’ भनेर धम्की आएको परिवारले जनाएको छ । धम्की आएपछि इलाका प्रहरी कार्यालय दुहबीमा घटनाकोबारे जानकारी गराइएको थियो । सुजनको खोजतलास गर्ने क्रममा शव भेटिएको थापाले बताए ।
मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीले सुजनको हत्यामा संलग्न हुनसक्ने आशङ्कामा केही व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको छ । यद्यपि नियन्त्रणमा लिएको व्यक्तिहरुको पहिचान भने खुलाएको छैन ।