अर्थनीति

बजेट खर्च र राजस्व संकलनमा प्रभावकारी काम गर्न मन्त्रालयलाई निर्देशन : मुख्यमन्त्री भट्ट

Trilochan Bhatta

१५ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बजेट खर्च र राजस्व संकलनमा प्रभावकारी काम गर्न विषयगत मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्ष (२०७७/०७८) को पहिलो चौमासिकमा बजेट कार्यान्वनको समीक्षा गर्न आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले बजेट कार्यान्वयनमा प्रभावकारी काम गर्न निर्देशन दिएका हुन् ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदीले राखेको खर्च र आम्दानीको प्रतिवेदनमाथि छलफल भएको थियो । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कुल बजेटको ६ दशमलव २९ प्रतिशत अर्थात २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ । यस्तै राजस्व संकलन तर्फ कुल लक्ष्यको ६४ दशमलव ४५ प्रतिशतले बढी राजस्जव संकलन भएको छ ।

यस्तै विषयगत मन्त्रालयका सचिवहरुले पनि आ–आफ्नो मन्त्रालयको प्रगति विवरण सार्वजनिक गरेका थिए । सबै भन्त्रालयको कार्यप्रगति हेरीसकेपछि मुख्यमन्त्री भट्टले जनअपेक्षा अनुसारका काम गर्न विषयगत मन्त्री र सचिवहरुलाई निर्देशन दिए ।

कार्यक्रममा पहिलो चौमासिकमा सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सबैभन्दा बढी खर्च गरेको र आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै भन्दा कम खर्च गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । जस अनुसार प्रदेश सभा सचिवालयले १९ दशमलव ५१ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले १ दशमलव २९ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले शुन्य दशमलव ८१ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७ दशमलव ४५ प्रतिशत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४ दशमलव २९ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले ८ दशमलव २५ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ८ दशमलव ०८ र वित्तीय हस्तान्तरण स्थानीय तहले ८ दशमलव ५१ प्रतिशत खर्च गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस