
१६ मंसिर, काठमाडौं । मानवअधिकार उल्लंघनकर्ताको सूचीमा परेका व्यक्तिलाई विदेश जान समस्या पर्ने देखिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले असोजमा २ सय ८६ जनाको नामसहितको सूची सार्वजनिक गरेको थियो । यसबारे विदेशी दूतावास र कूटनीतिक क्षेत्रबाट सरोकार राखेको आयोगले जनाएको छ । सरकारका तर्फबाट भने दुई महिनासम्म कुनै प्रतिक्रिया आएको छैन ।
आयोगले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा डिसेम्बर १० मा यही विषयमा छलफल चलाउने भएको छ। संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको यस दिनलाई विश्वभर मानवअधिकार दिवसका रूपमा मनाइन्छ ।
‘उल्लंघनकर्ताका विषयमा विभिन्न दूतावास र कूटनीतिक निकायबाट चासो र सरोकार व्यक्त भइरहेको छ । उल्लंघनकर्ताको नाम चाँडो वेबसाइटमा राखिदिन दबाब आएको छ’, आयोगका सचिव वेद भट्टराईले अन्नपूर्ण पोस्ट्सित भने, ‘उनीहरूले हुबहु ट्रान्सलेट गर्दा पनि आधिकारिकता देखाएन भने कठिन हुने भएकाले यस्तो आग्रह भएको होला । उल्लंघनकर्ताको नाम अंग्रेजीमा पनि वेबसाइटमा राखिदिने तयारी छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा यम विरहीले लेखेका छन् ।