समाचार

आफन्तबाटै छोरीचेली असुरक्षित हुन थालेपछि समुदाय आतंकित

rape

१६ मंसिर, काठमाडौं । प्रदेश २ का दुई जिल्लामा बाबुबाटै ‘कन्ट्र्याक्ट किलर’ (भाडाका हत्यारा) मार्फत छोरीको हत्या गरेको र बाबुबाटै छोरीको बलात्कार भएको घटना सार्वजनिक भएसँगै कोर मधेसका बासिन्दा आतंकित भएका छन् । यस्ता घटना बढ्दै जाँदा मधेसी समाज खलबलिँदै गएको पुष्टि भएको विश्लेषण गर्न थालिएको छ ।

रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाका रामअयोध्या साहले गाउँकै सोसिन्द्रकुमार भगतसँग भएको प्रेम स्विकार्न नसकेपछि भाडाका हत्यारा प्रयोग गरेर १७ वर्षिया छोरी अमृताकुमारी साहको ज्यान लिन लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीसमक्ष अपराध स्विकारेका रामअयोध्या अहिले थुनामा छन् । त्यस्तै भारत घर भई सर्लाहीको हरिपुर नगरपालिका–६ लक्ष्मीपुर कोद्राहामा बस्दै आएका एक पुरुषले आफ्नी ६ वर्षकी छोरीलाई पटकपटक बलात्कार गर्दै आएको घटना सार्वजनिक भएको हो । उक्त घटनाबारे अनुसन्धान भइरहेको छ ।

मधेसी समाजमा ‘प्रेम’ को नतिजा कति क्रूर हुँदो रहेछ भन्ने साक्षी रौतहतको घटना बनेको छ । यिनै घटनाका कारण सामाजिक संस्कारमाथि धब्बा लागेको मधेसका बुद्धिजीवीहरूको विश्लेषण छ । ‘यी घटनाका पछाडि दहेज (दाइजो) र आधुनिकीकरणको प्रभाव छ । आधुनिकीकरणका नाममा अभिभावकीय घेरा टुटिसकेको छ,’ सामाजिक अभियन्ता राजकुमार महतो भन्छन्, ‘अनुशासन र अभिभावकत्व नमान्ने एउटा पुस्ता र मान्नैपर्छ भन्ने अर्को पुस्ताबीचको अघोषित आन्तरिक विद्रोहको नतिजास्वरूप यस्तो घटना भएको हुन सक्छ ।’

उनका अनुसार पहिले घरायसी इज्जतका लागि आफ्नो आवश्यकता दबाएर राख्ने छोरीचेली अहिले ‘एक्सपोज’ तर्फ उन्मुख हुँदैछन् । ‘नयाँ पुस्ताका छोरीचेली अहिले अभिभावकसँग आन्तरिक विद्रोहमा उत्रिसकेका छन्, जसको नतिजा बाबुले छोरी मार्ने हदसम्म पुगिसक्यो,’ उनी भन्छन्, ‘यस्तो क्रूरता र अपराधले समाज काबुबाहिर गइरहेको अवस्थालाई दर्साउँछ । यसलाई समय रहँदै काबुमा ल्याउनैपर्छ ।’ यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादव र मदन ठाकुरले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस