समाचार

अब ट्राफिक लाइट नमान्ने पनि अनलाइन कक्षामा बस्नुपर्ने

online traffic class

१६ मंसिर, काठमाडौं । अबदेखि ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई अनलाइनबाटै ट्राफिक सचेतना कक्षा दिइने भएको छ । कोभिड १९ का कारण महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रविधिको प्रयोगमार्फत् निरन्तरता दिने भएको हो ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले लामो समयको लकडाउन र कोरोना संक्रमणको जोखिम यथावत नै रहेकोले चालकहरुलाई कक्षा कोठामा उपस्थित गराएर कक्षा संचालन गर्दा जोखिम झन बढ्न सक्ने देखिएकोले भर्चुअल क्लासको व्यवस्था गरिएको बताए ।

लामो समयदेखि बग्गीखानामा लिँदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको थियो ।

महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासनको पालना नगर्ने र ट्राफिक लाइटको बेवास्ता गरी रातो बत्तीको उल्लंघन गर्ने चालकहरुलाई अनलाइन सचेतना कक्षा लिनुपर्ने जनाएको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने, “रातो बत्तीमा समेत गाडी हुँइक्याउने र जथाभावी बाटो क्रस गर्ने पैदलयात्रुको बानीले दुर्घटनाको सम्भावना बढ्ने र सडक जाम समेत हुन्छ, यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न र ट्राफिक लाइटको पूर्ण पालना गराउन कारबाहीका साथै ट्राफिक कक्षा लिने व्यवस्था गरिएकाे हाे ।”

हाल उपत्यकाको २५ स्थानमा ट्राफिक लाईटको माध्यमबाट चोकहरुको व्यवस्थापन हुँदै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस