
१६ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको हो ।
पछिल्लो समय काठमाडौंमा राजावादीसहित विभिन्न समूह र संघ संगठनको प्रदर्शन हुँदै आएको छ । कोरोना संक्रमणको जोखिमका बीच यस्ता प्रदर्शन हुन थालेपछि प्रशासनले विज्ञप्तिमार्फत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन समेत अनुरोध गरेको छ ।
‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै, सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरु संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमको भएको साथै स्थानीय प्रशासन ऐन, २०२८ तथा संक्रामक रोग ऐन २०२० को विपरित हुने भएकाले त्यस्तो भिडभाडजन्य गतिविधि नगर्न/नगराउन साथै महामारी रोकथाममा सहयोग गर्नहुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ’, प्रशासनको विज्ञप्तिमा भनिएको छ ।
संक्रमणका बीच जुलुस तथा प्रदर्शन भएमा कानुन बमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना नै यसबाट बच्ने मुख्य उपाय भएको भन्दै सरकारले तोकेको मापदण्ड पालना गर्नु/गराउनु नागरिकको दायित्व हुने पनि स्पष्ट पारेको छ ।