
१७ मंसिर, कैलाली । गत कार्तिक पहिलो साता अस्थायी प्रहरी पोष्ट जुगेडाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संग्लग्न ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
जिल्ला अदालत कैलालीमा मंगलबार भएको थुनछेक बहसपछि हत्यामा संग्लग्न ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
पुर्पक्षका लागि कारागार चलान गरिएकामध्ये धनगढी उप–महानगरपालिका–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना रहेको उनले बताए ।
कात्तिक १ गते नियमित गस्तीमा खटिएका वेला असई विक र प्रहरी जवान साउद वेपत्ता भएका थिए । असई विकको अर्को दिन नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा शव भेटिएका थियो भने दुई दिनपछि साउद पनि मोहना नदीमै मृत भेटिएका थिए ।
सो घटनामा संग्लग्न भएको भन्दै प्रहरीले पक्राउ गरेका धनगढीका मटर ब्यापारी राजीव गुप्ता भने १ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।