समाचार

बालिका हत्या प्रकरण : पीडितलाई प्रदेश सरकारको राहत

bardibas ghatana

१७ मंसिर, महोत्तरी । महोत्तरीको बर्दिवासमा एक साताअघिको बालिका अपहरण र हत्या एवम् प्रदर्शनमा मारिएका परिवारलाई प्रदेश–२ सरकारले राहत घोषणा गरेको छ । आज बर्दिबासमा प्रदेश–२ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले पीडित परिवारलाई राहत घोषणा गरे । मन्त्री यादवले पीडित परिवारजनलाई दोषीमाथि कडा कार्वाही हुने विश्वास पनि दिलाए ।

मङ्सिर–७ गते आइतबार साँझ अपहरणमा परी भोलिपल्ट  मध्यरातमा बोरामा खाँदिएको अवस्थामा शव बरामद भएकी बर्दिबास–१४ शुभम् बस्तीका शहीद आलमकी छ वर्षीया छोरी गुलाव शाह गुलवशा खातुन र प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा मृत्यु भएका बर्दिबास–१ का बुद्धिराज (सञ्जय) न्यौपानेका परिवारलाई पाँच/पाँच लाख नगद प्रदान गरिने मन्त्री यादवले घोषणा गरे ।

मङ्सिर–९ गते मङ्गलबार बालिका अपहरण र हत्या गर्नेलाई कडा कार्वाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको काठमाडौँस्थित ग्रान्डी अस्पतालमा सोही रात उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रदेश सरकारले प्रदर्शनका क्रममा घाइते भएका बर्दिबास–५ का श्याम कार्की र बालिका गुलवशाका आफन्त आफताव आलमलाई एक/एक लाख प्रदान गर्ने घोषणा गरेको छ । मन्त्री यादवले मृतक न्यौपानेका नाबालक छोराछोरीको पठनपाठन व्यवस्थाका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लग्ने प्रतिबद्धता पनि जनाए ।

बर्दिबासको यो घटना प्रकरणले यहाँ मङ्सिर ८ गतेदेखि नै चर्को नाराबाजी गर्दै प्रदर्शनकारीले दिनदिनजसो बजार बन्द गराएर प्रदर्शन गर्दै आएका थिए । गत बिहीबार (मङ्सिर ११ गते) गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन गर्ने, पीडित परिवारलाई राहत दिने र दोषीलाई कडा कार्वाही गर्ने नागरिकस्तरबाट गठित वार्ता समितिसँग प्रतिबद्धता जनाएपछि आन्दोलन मत्थर हुनसँगै सोही दिन न्यौपानेको काठमाडौँमा र बालिका गुलवशाको जनकपुरमा आ–आफ्नो परम्पराअनुसार अन्त्येष्टि भएको थियो ।

घटना प्रकरणमा गृह मन्त्रालयबाट गठित उपसचिव नेतृत्वको टोलीले बर्दिबासमा छानबिन शुरु गरेको छ । यसैगरी गत बिहीबार नै बर्दिबास नगरपालिकाले दुवै मृतक परिवारलाई प्रतिपरिवार दुई लाख ५० हजार नगद र दुवै परिवारका एक/एक जनालाई योग्यता क्षमताका आधारमा रोजगारी उपलब्ध गराउने घोषणा गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस