१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो शरीरमा दुखाइ बढ्दै गएको बताएका छन् ।
गृह जिल्ला तनहुँको व्यास नगरपालिका– १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बुधबार उद्घाटन गर्न जाँदै गर्दा निषेधाज्ञा उलंघन गरेको भन्दै उनलाई बुधबार प्रहरीले दमौलीबाट पक्राउ गरि केही समय प्रहरी नियन्त्रणमा राखी छाडेको थियो ।
पुल उद्घाटनमा जाँदा प्रहरीका डण्डाबाट पेलिएका आफ्ना करङ हिजो दिउँसो भन्दा साँझ बढी दुखेको र आज अझै दुखाइ बढेको उनले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ ।’
नेता पौडेलले सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ,’ उनले भनेका छन् ।