
१८ मंसिर, पोखरा । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार रोकिएको तनहुँको बुल्दीखोला पुल विहीबार उद्घाटन गरेका छन् । तनहुँ व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।
बुधबार नेकपाका कार्यकर्ताले अवरोध गरेसँगै रोकिएको पुल उद्घाटनको कार्यक्रम आज पौडेलले नै रिबन काटेर पुल उद्घाटन गरेका हुन् । काँग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु उतारेर बिहीबार उद्घाटन गरेको हो । काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेललगायत पनि पुल उद्घाटनमा पुगेका थिए ।
बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो । तर बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन । बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।
२०७३ साल वैशाखमा निमाणको सम्झौता भएको पुलको लागत २ करोड ५४ लाख रुपैयाँ रहेको थियो । पुल २०७५ कात्तिक ९ गते नै निर्माण सम्पन्न भएको थियो ।