समाचार

भरतपुर कारागारको सुरक्षामा खटिएका दुई प्रहरी निलम्बित

chitwan bharatpur jail

१८ मंसिर, चितवन । जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई  प्रहरीलाई निलम्बन गरिएको छ। प्रहरी जवान अन्जन कार्की र सुरेश लामालाई अनुसन्धानका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य बहादुर थापाले बताए ।

कैदी रेशमलाल श्रेष्ठ भागेको घटनामा मिलेमतो गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई निलम्बन गरेको हो । मंसिर ११ मा साँझ जबर्जस्ती करणी मुद्धाका ४५ वर्षीय रेशमलाल १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए ।

सो घटना छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो । समितिले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाइसकेको छ ।

कालिका नगरपालिका घर भएका कैदी रेशमलालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । साउन २० मा जबरजस्ती करणी मुद्धाको फैसला भएपछि उनलाई सजाय भुक्तानका लागि कारागार पठाइएको थियो ।

भरतपुर कारागारबाट अहिलेसम्म ७ जना कैदी फरार भएका छन् । कारागारभित्रैबाट भाग्ने श्रेष्ठ मात्रै हुन् । बाँकी ६ जना अदालत लैजाने क्रममा, अस्पतालमा उपचारको क्रममा भागेको कारागार प्रशासनले जनाएको छ ।

तीमध्ये अहिलेसम्म एक जना मात्र पुनः पक्राउ परेका छन् । २८० जनाको क्षमता भएको कारागारमा हाल ६९७ जना कैदी बन्दी राखिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस