अर्थनीति

भौतिक पूर्वाधारमा गत वर्षभन्दा राम्रो प्रगति भएको मन्त्री नेम्बाङको दाबी

basanta nembang

१८ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले मन्त्रालयमा तुलनात्मकरुपमा गत वर्षभन्दा राम्रो प्रगति देखिएको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को पहिले चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा उनले मातहतका निकायलाई अहिले नै सन्तोष हुन सकिने अवस्था नरहेको भन्दै अझै धेरै गर्न सकिने औँल्याए।

मन्त्री नेम्वाङले विकास निर्माणमा देखिएका समस्या मिहिनरुपमा पहिचान गर्न सकिए समाधान त्यही भेटिने बताए । उनका अनुसार समस्याको सहीरुपमा उजागर हुन नसके समाधान गर्न सकिँदैन । उनले भौतिक पूर्वाधार मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा ठूलो बजेट हुनु र खर्चको अपेक्षा गरिनु  स्वाभाविक रहेको बताए । उनले पूर्वाधार निर्माणका क्षेत्रमा विगत एक दशकमा ठूलो परिवर्तन भएको पनि जिकिर गरे ।

राज्य र जनताका अपेक्षा धेरै भएकाले राज्यको जिम्मेवार निकायमा बसेकाले आफूले कति गरेको छु भनी स्वमूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ । समयानुसार विकासको माग र मोडेल फरक हुने उनले बताए । उनले भने, “हिजो जनताको माग सडक कालोपत्र गर्ने थियो, आज छ लेनको सडक अनि पहाडमा सुरुङको आवश्यकता भएको छ ।”

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले भौतिक पूर्वाधार क्षेत्र महत्वपूर्ण क्षेत्र भएको बताए । भौतिक पूर्वाधार मन्त्रालय स्थलगतरुपमा काम गर्ने  मन्त्रालय भएको र सोहीअनुसार काम पनि गरिरहेको उनले जनाए । मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले मातहतका निकायलाई थप लगनशीलताका साथ काम गर्न निर्देशन दिए । उनले आयोजना प्रमुखलाई कार्यस्थलमा समय दिन समेत आग्रह गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस