समाचार

रक्सी खाएर लडेको छोरालाई बोक्सी लगाएको भन्दै बुहारीमाथि कुटपिट !

arrest

१९ मंसिर, दाङ । लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान गाउँ-गाउँमा चलिरहेको बेला दाङ देउखुरीको गढवा गाउँपालिकामा रक्सी खाएर लडेको छोरालाई बोक्सी लगाएर विरामी बनाएको भन्दै बुहारीमाथि कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गढवाको टोलीले दाङ देउखुरीबाट आफ्नै भाईबुहारीलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको कसुरमा जेठाजु तिलकराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत मंसिर १५ गते दिउँसो पीडितका श्रीमान काममा गएका बेला एक्लो पारेर चौधरीले आफ्नै बुहारीलाई बोक्सीको आरोप लगाई कुटपिट गर्दा स्थानीयले छुट्टाएपछि पीडित भागेर गाउँपालिकाको कार्यालय पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पिडकले बिगत ४ वर्ष अगाडीदेखि नै आफूलाई बोक्सी भन्ने गरेको र आफ्नै जेठाजु भएकोले आजसम्म सहेर बसेको पीडित महिलाले बताइन् । जेठाजुको छोरा मापसे गरेर कल्भर्टबाट लडेर घाइते भएको र उनलाई अस्पतालमा औषधी गर्नुको बदला गुरुवा कहाँ झारफूक गराइरहेको र आफुललाई बोक्सी लागिस् भनेर आरोप लगाएको पीडित महिलाले बताइन् ।

पीडित महिलाले जाहेरी दर्ता गरिसकेको र पक्राउ परेका पिडकलाई दाङ-देउखुरी जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिएका छन् ।

बोक्सीको आरोप लगाउने व्यक्तिलाई मूलूकी अपराध संहिता तथा फौजदारी कसुर सजाय-२०७४ मा ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी ब्यवस्था रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस