
२० मंसिर, काठमाडौं । बहुविवाहको आरोपमा सल्यानका वडाध्यक्ष पक्राउ परेका छन् । अर्काको श्रीमती भगाएर तेस्रो बिहे गरेको आरोपमा प्रहरीले वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई पक्राउ गरेको हो ।
वडाध्यक्ष कुमाईलाई शुक्रवार साँझ जयतपानी बजारबाट नियन्त्रणमा लिएको सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) लक्ष्मण वलीले जानकारी दिए । कुमाईका यसअघि नै दुई श्रीमती रहेको अनुसन्धानबाट खुलेको छ ।
इन्सपेक्टर वलीका अनुसार वडाध्यक्षले तेस्रो बिहे गरेका भनिएकी ग्वामी विष्टलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै श्रीमतीतर्फ ४ जना छोराछोरी छन् ।
वडाध्यक्षले नै तेस्रो बिहे गर्दा पनि कानूनी कारबाही नगरेको भन्दै स्थानीयवासीले विरोध गरेका थिए । वडाध्यक्षले तेस्रो बिहे गरेको भन्दै सोही वडाका पाँचजना स्थानीयवासीले प्रहरीमा बहुविवाहको जाहेरी दिएपछि कुमाईलाई पक्राउ गरिएको इन्सपेक्टर वलीले बताए ।
पक्राउ परेका कुमाई र बिष्टलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।