समाचार

केपी ओलीबाट गणतन्त्र सखाप पार्ने खेल भयो : प्रदीप पौडेल

Pradip paudel

२० मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासकै असफल प्रधानमन्त्री भएकाले पदमा बस्ने नैतिक आधार समाप्त भएको बताएका छन् ।

उनले ओलीले राजनीतिक प्रणालीलाई नै खतरामा पारेको आरोप लगाए । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै राजनीतिक दल र राजनीतिक प्रणालीप्रति नै वितृष्णा जगाउने भुमिका खेलेको टिप्पणी गरे । पौडेलले वाइडबडी र प्रिन्टिङ प्रेस खरिद जस्ता अरबौं घोटाला भएका भ्रष्टाचारको खुलासा भइसकेको बताए ।

‘ओलीजी प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्य हुनुहुन्न,’ पौडेलले भने, ‘सरकार असफल भइसकेको छ, शाही शासन र ओली शासनमा अन्तर भएन ।’ नेकपाभित्रको पछिल्लो विवादलाई कुर्सीको लडाईं भने । बैठक बस्ने र स्थगित गर्नेबाहेक नेकपाले केही गर्न नसकेको उनको टिप्पणी थियो । पौडेलले भने, ‘कुन दलाललाई कुन कुर्सीमा बसाउने र आफू कुन कुर्सीमा बस्ने भन्नेमा ओलीजी र प्रचण्डजीबीच झगडा चलिरहेको छ ।’

प्रधानमन्त्री ओली विगतमा नै गणतन्त्र विरोधी भएको भन्दै अहिले राजावादीहरुको सक्रियताप्रति आशंका गर्नुपर्ने बेला आएको बताए । ओलीले गणतन्त्र र संघीयतालाई सखाप पार्ने खेल खेलेको आरोप लगाए । उनले भने, ‘हामी गणतन्त्रका लागि सडक संघर्ष गरिरहँदा ओलीजी बयलगाडा चढेर अमेरिका पुगिदैन भन्दै गणतन्त्रको नाराको उपहास गर्दै हुनुहुन्थ्यो, त्यसैले उहाँ गणतन्त्र नै सखाप पार्न लाग्नुभएको छ । अहिले राजा ल्याउनुपर्छ भनी सडकमा आवाज उठ्नुको जिम्मेवार ओली नै भएको आरोप लगाए ।

सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल विकल्प नखोजिए राजनीतिक प्रणाली नै धरापमा पर्ने बताएका छन् । प्रधानमन्त्री ओली योजनावद्ध तरिकाले गणतन्त्र र संघीयता सखाप पार्न लागेको आरोप लगाए । उनले भने, ‘ओलीजी संघीयता र गणतन्त्र सखाप पार्ने खेलमा हुनुहुन्छ, उहाँको विकल्प नखोजिए देशमा दुर्घटना हुन्छ ।’

प्रधानमन्त्री ओलीका कारण राजनीतिक दलप्रति वितृष्णा बढेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस