समाचार

रसुवामा शङ्खे पार्क अवलोकन खुला

zoological-park

२१ मंसिर, रसुवा । धुञ्चेस्थित टुल्कु छेलिङ गुम्बको छेउमा निर्माण भएको शङ्ख पार्क अवलोकनका लागि खुला गरिएको छ । स्थानीय तहको कार्य योजनाअनुरूप रू १७ लाख ३३ हजारको लागतमा निर्माण गरिएको शङ्ख पार्क दिनभर खुला रहने व्यवस्थाले स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक तथा पर्यटकसमेतले विश्राम लिई उच्च भागको दृश्य अवलोकन गर्नसमेत सहज भएको छ ।

मानव बस्ती छनोट गर्ने क्रममा भगवानले फ्याँक्नु भएको शङ्ख धुञ्चे क्षेत्रमा अडिएको  इतिहासलाई भावीपुस्तासम्म जीवन्त राख्न शङ्ख पार्क निर्माण गरिएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ । समुन्द्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा तयार गरिएको सो पार्क निर्माणका लागि गाउँपालिका र स्थानीयवासीको लगानी रहेको गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।

स्थानीय भाषामा धुङ्ग भनेको शङ्ख र लाङ भनेको शङ्ख गाडिएको ठाउँ भएकाले गाउँको नाउँ नै धुङ्लाङ रहन गएको बताउँदै टुल्कुछेलिङ गुम्बाका लामा धर्मगुरू लामा रेञ्जन घलेले यस क्षेत्रमा रसुवाको सदरमुकाम स्थापना भएपश्चात् नाम सरलीकृतका लागि सरकारी निकायबाटै विसं २०२४ अगावै धुञ्चे नामकरण गरिएको जानकारी दिए ।

पासाङल्हामु राजमार्गसँग जोडिएको नवनिर्मित शङ्ख पार्क मोटरका यात्रुलेसमेत सहजरूपमा अवलोकन गर्नसक्ने बताइन्छ । यस्तै खेलप्रेमीका लागि धुञ्चेमा फुटबल मैदानको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्ला अस्पताल नजिक बनाइएको उक्त मैदानको टेवा पर्खाल लगाउने र मैदान सम्याउने काम सम्पन्न भई तारबार लगाउने कार्य द्रुतगतिमा अगाडि बढिरहेको गाउँपालिकाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस