२१ मंसिर, काठमाडौं । नापी विभागले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा मंगलबार गर्ने भएको छ ।
मंगलबार एक समारोहका बीच सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम रहेको नापी विभागका महानिर्देशक सुशील नरसिंह राजभण्डारीले जानकारी दिए । त्यसअघि सोमबार पनि विभागले यसै विषयमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन राखेको छ ।
मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न स्वीकृती दिएको थियो । आर्थिक वर्ष ७५/७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ ।
२०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो । सन् २०१९ मा चिनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम सगरमाथाको उचाई नाप्ने काममा नेपाल र चीनका सरकारी टोली खटिएका थिए ।
पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटर हालसम्म कायम रहेको छ ।