२३ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहले मोरङ मिक्लाजुङ गाउँपालिका-१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ । नेकपाले आफ्ना कार्यकर्तामाथि हतियार लिएर आक्रमण गर्न आएका मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको जनाएको छ ।
नेकपा मेची–कोसी ब्युरोका इन्चार्ज प्रतापले मङ्गलबार विज्ञप्ति जारी गरी लामो समयदेखि नेकपाविरुद्ध सुराकी गर्दै, नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गराउँदै र सरकारलाई सघाउँदै आएका श्रेष्ठलाई सच्चिन पटकपटक सुझाव तथा चेतावनी दिँदा पनि नसुध्रिएको र उल्टै हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको जनाएका छन् ।
इन्चार्ज प्रतापले प्रेस वक्तव्यमा भनेका छन्, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले विद्यमान दलाल संसदीय व्यवस्थाका विरुद्ध एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको सबैमा विदितै छ । यसै सन्दर्भमा पार्टीविरुद्ध लामो समयदेखि सुराकी गर्दै आएका र सच्चिन पटकपटक सुझाव तथा चेतावनी दिँदा पनि नसुध्रिएका मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको मृत्युका बारेमा तथ्य सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।’
श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची कोसी ब्युरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’ दावी विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठले जनताका घरमा पटक पटक प्रहरी पठाएर नेता कार्यकर्तालाई खान बस्न दिए तातो गोली खान्छौ भन्दै आतंकित पारेको विज्ञप्तिमा भनिएको छ ।
‘उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालक गराएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘२०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए ।’ लामो समयदेखि श्रेष्ठले सुराकी गर्दै आएको र सच्चिन पटक पटक चेतावनी दिँदा नसुध्रिएको दाबी गरिएको छ ।