
२४ मंसिर, काठमाडौं । अनलाइनमार्फत खानेकुराहरुको डेलिभरी गर्ने प्लेटफर्म ‘फुडमाण्डु’ को सर्भर ह्याक गर्ने युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।
फुडमाण्डुको सर्भर ह्याक गरेको आरोपमा काठमाडौंबाट १९ वर्षीय दिनेश तिवारी पक्राउ गरिएको हो । साइबर ब्युरोका एसएसपी नवीन अर्यालका अनुसार फुडमाण्डुले दिएको उजुरीपछि अदालतबाट अनुमति दिएर हिजो बेलुका काठमाडौंबाट पक्राउ गरिएको हो ।
फुडमाण्डुले आफ्नो सर्भर ह्याक गरी त्यहाँभित्रका व्यक्तिगत विवरण चोरेको भन्दै अनुसन्धानका लागि साइबर ब्युरोमा उजुरी दिएको थियो । पक्राउ परेका तिवारीमाथि अनुसन्धान भइरहेको एसएसपी अर्यालले जानकारी दिए ।
यसअघि २२ मंसिरमा ब्यूरोले लोकसेवाको सर्भर ह्याक गरेर ९ हजार एसएमएस पठाउने ३ जना पक्राउ गरेर सार्वजनिक गरेको छ । ब्यूरोबाट खटिएको टोलीले पोखराबाट २ जना र ललितपुरबाट १ जनालाई पक्राउ गरेको हो ।