समाचार

राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविता एउटै कृतिमा

Pragya Prasthin

२४ मंसिर, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत  कवितालाई एउटै कृतिमा प्रकाशन गर्ने भएको छ । प्रतिष्ठानले २०२२ सालदेखि कविता महोत्सव सञ्चालन गर्दै आइरहेको छ । विसं २०२२ देखि २०४६ सम्म पुरस्कृत कवितालाई ‘कविता महोत्सवः पच्चीस वर्ष’ (२०४६) कृतिमा प्रकाशन गरिसकिएको छ ।

त्यसपछिका पुरस्कृत कवितालाई प्राडा हेमनाथ पौडेल, डा.देवी नेपाल र शशी लुमुम्बुको सम्पादनमा ‘राष्ट्रिय कविता महोत्सवः पुरस्कृत कविताहरू’ शीर्षकमा प्रकाशन गर्न लागिएको हो । विसं २०४६ देखि २०७६ सम्मको तीसवर्षे अवधिमा राजनीतिक परिवर्तनका कारण २०४७ सालमा  एक वर्ष र प्राज्ञ परिषद् गठन हुन नसक्दा २०६३–२०६६ सालमा चार वर्ष गरी जम्मा पाँच वर्ष महोत्सव आयोजना हुन सकेको थिएन ।

पच्चीस वर्ष पुरस्कृत १२५ कविका कवितालाई एउटै कृतिमा प्रकाशन गर्न लागिएको काव्य विभाग प्रमुख तथा कृतिका सम्पादक  प्राडा पौडेलले जानकारी दिए । “साहित्यकार तथा साहित्यप्रेमीलाई कुनकुन वर्ष कस्ताकस्ता कविता पुरस्कृत भएका थिए भन्ने बारेमा चासो हुनु स्वाभाविक हो”, उनले भने, “पुस्तक प्रकाशन गर्नाले नयाँ पुस्तालाई  सिकाइ हुनाका साथै इतिहासको दस्तावेजीकरण गर्नमा समेत मद्दत मिल्छ ।” कृतिमा पुरस्कृत कवि र कविताका साथै र महोत्सवको समग्र इतिहासका बारेमा पनि उल्लेख गरिने अर्का सम्पादक प्राज्ञ डा नेपालले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस