
२५ मंसिर, काठमाडौं । काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को अठारौँ संस्करण आज बिहीबारदेखि सुरु हुँदैछ । कोभिड १९ को कारण भर्चुअल रुपमा आयोजना हुने फेस्टिभलमा ५ दिन अर्थात आइतबारसम्म चल्नेछ । १५ मुलुकका १८ वटा फिल्म यो पटक फेस्टिभलमा प्रदर्शनका लागि छानिएका छन् । त्यसबाहेक नेपाल पानोरामा अन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा फिल्महरु पनि देखाइनछ ।
फिल्म फेस्टिभलको क्रममा फिल्मकर्मी र वक्ताहरूसित भर्चुअल अन्तक्र्रिया हुनेछ र परिसंवादको कार्यक्रम पनि सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय फिल्महरुमा पर्वतीय जनजीवन, संस्कृति, वातावरण र पर्वतारोहण तथा साहसिक बिषयबस्तु समेटिएका छन् भने नेपाल पानोरामा फेरि एक पटक प्रतिभाशाली युवा नेपाली फिल्मकर्मीको प्रस्तुति देख्न पाइनेछ । यस पटक किम्फको सन्देश ‘तमसोमा ज्योतिर्गमय’ रहेको छ ।
किम्फ २०२० को उद्घाटन भुटानी फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ चलचित्र लुकिङ फर अ लेडी विथ फ्याङ्स एन्ड अ मुस्टयाच को प्रदर्शनबाट हुनेछ । यस चलचित्रको पूरै छायांकन नेपालमै भएको थियो । उक्त अवसरमा रिम्पोचेले भर्चुअल प्रवचन पनि दिनेछन् । अन्तर्राष्ट्रिय खण्डमा १५ देशका १८ वटा चलचित्र र नेपाल पानोरामातर्फ १२ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ ।
अन्तर्राष्ट्रिय खण्डतर्फ पहिलो, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमशः रु २ लाख, रु १ लाख ५० हजार र रु १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट ठहरिने नेपाली कथानक चलचित्र र उत्कृष्ट डकुमेन्ट्रीको पुरस्कार राशी क्रमशः रु १ लाख र रु ७५ हजार रहेको छ र पुरस्कार रकम क्रमशः मिला प्रोडक्सन्स तथा चलचित्र विकास बोर्डले उपलब्ध गराएको हो ।