समाचार

काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुँदै, सहमतिपत्रमा हस्ताक्षर

Sadak Batti Jadan Sahamati

२५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक बत्ति जडान हुने भएको छ । सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ग र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा आज मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करीब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भएको हो । सहमतिपत्रमा हस्ताक्षर गर्दै मन्त्री नेम्बाङ्गले संघीय राजधानी समेत रहेको काठमाडौं महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो संघीय राजधानीको चिनारी दिने अभियान अन्तरगत यो योजना अघि बढेको बताए ।

मन्त्री नेम्बाङ्गले मन्त्रालय धुलोरहित, हिलोरहित काठमाडौं बनाउने अभियानमा यस अघिदेखि नै सक्रिय रहेको भन्दै काठमाडौं महानगरपालिकाको पहलमा उज्यालो काठमाडौं महानगर बनाउने अभियानलाई सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको पनि बताए । काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले धेरै पटकको प्रयासपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने चरणसम्म आइपुगेको भन्दै अब जतिसक्दो छिटो काम सम्पन्न गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे ।

सहमतिपत्रमा काठमाडौं महानगरपालिका, क्षेत्रभित्रका मुख्य मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा गर्ने र लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ । त्यसैगरी चालु आ.व.मा नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीको लागी आवश्यक रकम काठमाडौं महानगरपालिकाले उपलव्ध गराउने र उक्त रकम आगामी कार्यक्रममा नेपाल विद्युत प्राधिकरणले गर्ने लगानीमा समायोजन गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस