
२५ मंसिर, काठमाडौं । काठमाडौं र नयाँ दिल्लीबीच हवाई उडान पुनः सुरु हुने भएको छ ।
कोरोना महामारीपछि विगत ९ महिनादेखि दुवै देशबीच हवाई उडान बन्द थियो । नेपाल र भारत सरकारबीच दुई देशका राजधानीबीच हवाई उडान पुन: सुरु गर्ने सहमति भएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।
एयर ट्रान्सपोर्ट बबल स्किममा सहभागी हुने नेपालले निर्णय गरेसँगै दैनिक उडानको लागि पठाएको प्रस्ताव स्वीकार गरेको र भारतको तर्फबा एयर इन्डियालाई उडानका लागि तोकिएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।
दैनिक एक / एक उडान गर्ने गरी दुई देशबीच सहमति भएको हो । नेपालबाट भने नेपाल एयरलाइन्सले उडान गर्ने छ । उडानको तालिका भने ती दुबै एयरलाइन्सले तय गर्ने छ । उडान गर्दा नेपाली र भारतीय नागरिक र कुटनितिक नियोगका कर्मचारीहरु मात्रले यात्रा गर्न पाउने छन् । भारतमा हाल एयर बबल मार्फत मात्र उडान हुँदै आएको छ ।
‘दुबै सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ अन्तर्गत दिल्ली र काठमाडौं बीच नियमित निर्धारित उडान पुनःसुरु गर्न अनुमोदन गरेको जानकारी गराउन पाउँदा खुशी लागेको छ । एयर इण्डिया र नेपाल एयरलाइन्सले यी दैनिक उडानहरु सञ्चालन गर्नेछन्’ दुतावासले ट्वीटरमार्फत भनेको छ ।