समाचार

विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्‍को निर्णय

bisworaj pokharel

२५ मंसिर, काठमाडौं । सरकारले नेपाल प्रहरीका नायव प्रहरी महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो । नातामा नेकपा नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलका भाइ पर्ने उनलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन विपरित सिफारिस गरिएको थियो । समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो ।

सरकारको सो निर्णयसँगै वैकल्पिक सूचीका पोखरेल भावी प्रहरी महानिरीक्षक हुने भएका छन् । उनी ०४९ चैतमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी नायव उपरिक्षक हुँदा उनको व्याच (१०१ टोली)मा विश्वराज १८ औं बरियतामा थिए । प्रहरी उपरीक्षक बढुवा हुँदा पाँचौ बरियतामा रहेका पोखरेलले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हुँदा फड्को हानेर एक नम्बरमा बढुवा भए ।

तत्कालीन डीआईजी शुशील भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि पोखरेलले अर्को फड्को हाने । आफूभन्दा सिनियर एसएसपीलाई उछिन्दै उनि एकल नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस