
२७ मंसिर, काठमाडौं । सरकारले संसदीय समितिमा अनुस्थित हुने र समितिले दिएका निर्देशन पनि पालना नगर्ने प्रवृत्ति बढेपछि संसद्को सर्वोच्चतामै प्रश्न उठेको छ । संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीलाई समितिमा बोलाउँदा नआउने र दिएका निर्देशन पालना नगर्ने प्रवृत्ति बढेको छ । यसबाट संसद्लाई सरकारले नटेरेको तथा संसदीय सर्वोच्चताको मतलब नराखेको देखिएको छ ।
संसदीय शासन व्यवस्थामा जनताको प्रतिनिधिमूलक संस्था संसद्ले सरकारका कमजोरी औंल्याउने र सच्याउन निर्देशन दिने हो । तर केपी ओली नेतृत्वमा रहेको हालको सरकारले मिनी संसद्का रूपमा चिनिने संसदीय समितिमात्र होइन, संसद्कै निर्देशनलाई समेत बेवास्ता गरेको टिप्पणी भइरहेका छन् ।
यसको पछिल्लो उदाहरण हो राज्यव्यवस्था समितिको निर्देशनको उल्लंघन । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले बुधबार दिएको एउटा निर्देशन सरकारले २४ घण्टा नबित्दै लत्याइदियो । समितिले प्रहरी अतिरिक्त महानिरीक्षको पद सिर्जना गर्ने काम संविधानविपरीत भएकाले त्यसलाई कार्यान्वयन नगर्न बुधबार सरकारलाई निर्देशन दियो । त्यसको २४ घण्टा नबित्दै सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा विश्वराज पोखरेललाई बढुवा गर्यो ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई बढुवा गर्दै अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ । समितिले स्पष्टसँग भनेको थियो, ‘प्रहरी संगठनमा दूरगामी प्रभाव पर्ने गरी प्रहरी अतिरिक्त महानिरीक्षकको पद सिर्जना गर्ने विषय संविधान, काननु, विधि र प्रक्रियाविपरीत भएकोले हाललाई उक्त पदमा नियुक्तिको कार्य कार्यान्वयन नगर्न नगराउन नेपाल सरकालाई निर्देशन गर्दछ ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।