
२७ मंसिर, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे प्रारम्भिक अनुमान गरेको छ । भारतमा खोप निर्माणमा लागेका कम्पनीले प्रतिगोटा ८ डलरसम्म उपलब्ध गराउन सकिने जानकारी सरकारलाई दिएका छन् । भारतमा अक्सफोर्ड, बायोएनटेकलगायत कम्पनी खोप निर्माणमा जुटेका छन् । अरू देशमा उत्पादित खोपको मूल्य १० देखि १५ डलरसम्म पर्ने अनुमान सरकारको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले खोप किन्नेबारे भइरहेका प्रगतिबारे शुक्रबार सामूहिक छलफल गरेका थिए । ‘जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारे सीसीएमसीमा आबद्ध मन्त्रीहरूसँग सरकारका पछिल्ला निर्णय र त्यसमा भइरहेको प्रगतिबारे छलफल भएको हो’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भयो। त्यसबाहेक कतिपय निर्णय कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल ग¥यौं ।’
उक्त छलफलमा गृह, अर्थ, परराष्ट्र, संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसंख्या, पर्यटनमन्त्रीसहित मुख्यसचिव र सचिवहरू सहभागी थिए । त्यस क्रममा विभिन्न देशले निर्माण गरिरहेका खोपको मूल्य, उपलब्धता र सहजताबारे छलफल भएको थियो ।
सरकारले अमेरिका, बेलायत, रुस, चीन, अस्ट्रेलिया, भारतलगायत देशमा उत्पादित खोपको मूल्य र उपलब्धताबारे अध्ययन गरिरहेको छ । भारतमा अक्सफोर्डले निर्माण गर्दै गरेको खोप सस्तो पर्ने देखिएको एक मन्त्रीले जानकारी दिए । यद्यपि, यो खोपले मान्यता भने पाइसकेको छैन ।
‘सरकारले विभिन्न देशमा बन्दै गरेका भ्याक्सिन (खोप)को मूल्य के कति पर्ने रहेछ ? ल्याउँदा के कस्तो उपकरण र सावधानी अपनाउनुपर्ने रहेछ ? क–कसले भ्याक्सिन दिन सक्ने रहेछन् भनेर गहन अध्ययन गरिरहेको छ’, एक मन्त्रीले भने, ‘हालको अवस्था हेर्दा भारतबाट किन्दा सस्तो पर्ने देखिएको छ । भोलि कुनै देशले निःशुल्क दिने भनेर पनि भन्न सक्छन् ।’ सरकारले ७२ प्रतिशत जनसंख्यालाई पुग्ने गरी खोप किन्ने तयारी गरेको छ । ‘तीन करोड जनसंख्यालाई आधार मान्ने हो भने २ करोडभन्दा बढी भ्याक्सिन किन्नुपर्ने अवस्था छ’, एक मन्त्रीले अन्नपूर्ण पोस्ट्सँग भने । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।