अर्थनीति

सरकारले घोषणा गरेको राहतबाट लाभ लिन निजी क्षेत्रलाई अर्थमन्त्री पौडेलको सुझाव

Bishnu Paudel

२७ मंसिर, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा कोभिडको असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई जोगाउन सरकारले ल्याएका राहतका प्याकेजबाट निजी क्षेत्रले अधिकतम लाभ लिनसक्नुपर्ने बताएका हुन् ।

सरकारले घोषणा गरेका राहत, सहुलियत र उत्प्रेरणाका कार्यक्रमको अधिकतम उपयोग निजी क्षेत्रले गर्न सके देशको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन सकिने उनको दाबी छ । सरकारले घोषणा गरेका यस्ता प्रबन्धहरु प्रयाप्त नभएमा निजी क्षेत्रसँग छलफल गर्न आफू तयार रहेको पनि अर्थमन्त्री पौडेलले बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन कोभिडको मापदण्ड पालना गरेर व्यवसायीक गतिविधिलाई अगाडि बढाउनुको विकल्प नरहेको बताए । कोभिडकोबीचमा पनि कतिपय सूचकहरु सकारात्मक रहेकाले अर्थतन्त्रमा ठूलो क्षति नपुगेको दाबी गभर्नर अधिकारीको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिडबाट प्रभावित अर्थतन्त्रको सुधारका लागि सरकारले स्वेतपत्र जारी गर्नुपर्ने बताए । यस्तै निजी क्षेत्रलाई प्रवद्र्धन गर्न आयकरमा सहुलियत दिनुपर्ने, भ्याटको दर घटाउनुपर्ने, चेक बाउन्सको समस्या समाधानका लागि छुट्टै नीतिनियम ल्याउनुपर्ने माग समेत गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको कारण व्यवसाय बन्द हुने अथवा क्षमता अनुसार सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको बताए । त्यसैले बन्द उद्योग व्यवसायलाई पुनस्थापना गरी रोजगारी अभिवृद्धि गर्ने, सरकारी राजश्व बढाउने सम्बन्धमा सरकारको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस