समाचार

बालाचतुर्दशीमा पशुपति क्षेत्र सुनसान

pashupatinath

२७ मंसिर, काठमाडौं । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गर्ने भक्तजनको भीड लाग्ने पशुपति क्षेत्र यस वर्ष सुनसान भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपतिलगायत देशभरका शिवालयमा दीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्वमा यस वर्ष पशुपति सुनसान भएको हो ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यस वर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यस वर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो । आज दीपदान गरी आइतबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेकामा यस वर्ष मेला नलाग्ने भएपछि श्रद्धालुले नजिकैको शिवालयमा दीपदान गरेका छन् । पशुपति क्षेत्रमा महादीपदान गर्न पूर्णरूपमा निषेध गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । आइतबार बिहान शतबीज छर्न भने मन्दिरको मुख्य क्षेत्र कैलाशडाँडामा निषेध गरिएको पनि उहाँले जानकारी दिए ।

मृगस्थली, गुह्येश्वरी र गौरीघाट क्षेत्रमा भने शतबीज छर्न सकिने कोषले जनाएको छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने चलन रहँदै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस