राजनीति

कांग्रेस सभापति देउवा अनुपस्थित भएपछि संवैधानिक परिषद‍् बैठक स्थगित

Deuba-oli

२८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि बैठक स्थगित भएको बालुवाटार स्रोतले जनाएको छ । परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ । बैठक आइतबार बिहान ९ बजे बस्ने कार्यतालिका थियो ।

संवैधानिक नियुक्तिका विषयमा प्रधानमन्त्री ओलीसँग ठोस समझदारी नभएकाले परिषद् बैठकमा देउवा नगएको बताइएको छ । देउवाले भने बैठकमा सहभागी नहुनुको कारण सोमबारका लागि पूर्वनिर्धारित पार्टीको विरोध कार्यक्रमलाई देखाएका छन् । तर संवैधानिक निकायमा नियुक्तिबारे प्रधानमन्त्रीसँग कुरा नमिल्दा देउवा बैठकमा सहभागी नभएको जनाइएको छ ।

संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।

उपसभामुख पद लामो समयदेखि रिक्त छ । संवैधानिक परिषद् ऐन २०६६ मा बैठकको गणपूरक संख्याका लागि अध्यक्ष र चार जना सदस्यको उपस्थिति आवश्यक हुने उल्लेख छ । अहिले परिषद्मा प्रधानमन्त्रीसहित पाँचजना मात्रै सदस्य छन् । एक जना सदस्य मात्रै अनुस्थित भए बैठकका लागि गणपूरक संख्या पुग्दैन ।

कांग्रेस नेताहरूले भने पार्टीको विरोध कार्यक्रमको अघिल्लो दिन प्रधानमन्त्रीले परिषद् बैठक बोलाउनुलाई शंकाको दृष्टिले हेरेका छन् । बैठकमभा सभामुख अग्निप्रसाद सापकोटा पनि अनुपस्थित भएनन् । सभामुख सापकोटाले परिषद् बैठकको सूचना पाएलगत्तै आफ्नो कार्यव्यस्तताबारे जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।

लामो समयदेखि परिषद् बैठक नबस्दा पदपूर्ति हुन नसकेको हो । संवैधानिक निकायमा पदपूर्तिका लागि परिषद् बैठकले सिफारिस गर्ने व्यवस्था छ । मुख्य निकाय मानवअधिकार आयोग पदाधिकारीविहीन छ भने अख्तियार कार्यवाहकका भरमा चलिरहेको छ । १३ संवैधानिक आयोगमध्ये ११ वटामा ४५ पद रिक्त छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस