२९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको घोर दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।
कांग्रेस काठमाडौंले सोमबार सरकारविरुद्ध आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सत्ताको दुरुपयोग गरेर सर्वसत्तावाद लाद्ने प्रयत्न सरकारले गरिरहेको आरोप लगाएका हुन् । ओलीको सर्वसत्तावादको उन्मादलाई ठीक ठाउँमा राख्न जनता अब सजग हुनु पर्ने पौडेलको भनाइ छ ।
पौडेलले जनताले लडेर ल्याएको व्यवस्था र संविधान नै खल्बल्याउने प्रयास पनि भइरहेको बताए । ‘लोकतन्त्र र संविधानको रक्षाको लागि आज सबै नेपाली सजग भएका छन् । कि यो मुलुकमा कुनै पनि किसिमको अधिनायकवाद, सर्वसत्तावाद र तानाशाही व्यवहार स्वीकार्य हुँदैन,’ उनले भने,‘ प्रतिगमनको कुचेष्टा नगरे हुन्छ अब त्यसको विरोधमा जनता जुर्मुराएका छन् । आजको कांग्रेसको देशभरको प्रदर्शन नेपाली जनताको जागरणको सन्देश हो ।’
पौडेलले ओलीको सर्वसत्तावादविरुद्ध सबै एकजुट भएर लड्नु पर्ने बताए । उनले कम्युनिष्टको सर्वसत्तावाद राजाको निर्दलीय पञ्चायतका बेलाको जस्तै अधिनायकवादका भएको आरोप लगाए । ‘राजाको निर्दलीय पञ्चायतका बेला हामीले रुख रोप्दा हामो टाउँको फुटाइन्थ्यो । आज कम्युनिष्टको सर्वसत्तावादमा हामीले पुल बनाउँदा हाम्रा करङ भाँचिँदैछन्,’ पौडेलले भने,‘यो विडम्बना हो । यी दुवै चरित्र अधिनायकवादका दुई स्वरुप हुन् ।’
सवै सत्ता आफ्नो हातमा लिएर आफैँ मोज गर्ने ओलीको प्रवृत्तिको विरोधमा कांग्रेस सडकमा उत्रिएको उनले बताए । ‘सबै सत्ता आफ्नो हातमा लिएर आफैँ मोज गर्ने, आफ्नो हात जगननाथ गर्ने । आफ्ना मान्छे पोस्ने, आफ्नै वर्ग खडा गर्ने, नयाँ वर्ग जन्माउने प्रयास भइरहेको छ । त्यसकाविरुद्ध हामी उत्रिएका हौँ,’ उनले भने ।
ओली सत्तामा आएपछि मुलुकमा भ्रष्टाचार र असुरक्षा बढेको उनले आरोप लगाए । सरकारले राज्यकोषको दुरुपयोग गरेर कार्यकर्ता पोस्ने काम गरिरहेको पनि आरोप लगाए । ‘सरकारले स्थानीय तह र प्रदेशको अधिकार खोसेर आफ्ना कार्यकर्तामार्फत सिधै जनताकाबीचमा पैसा पठाउने अनि यो पैसा देखाएर यो विकास गर्दिन्छु मेरो पार्टीमा आऊ भन्ने काम भइरहेको छ,’ उनले भने ।
पौडेलले ओली सरकारले पाँच वर्षमा गर्ने कामको एक–एक हिसाब कांग्रेसले राख्ने पनि बताए ।