समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु

corona vaccine

३० मंसिर, काठमाडौं । फाइजर र जर्मन साझेदार बायोएनटेकले शुक्रबार अबेर आपतकालीन प्रयोग अनुमति प्राप्त गरेपछि सोमबार अमेरिकामा खोप अभियान सुरु भएको छ । कार्गो कम्पनी फेडएक्स र युपिएसले कोरोना खोप भरिएका कार्गो जहाज र ट्रकहरू अमेरिकाका विभिन्न राज्यमा पुर्‍याएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।

दैनिक झन्डै २४ सय अमेरिकीको ज्यान लिइरहेको कोरोना महामारी रोक्न खोप अभियान सुरु गरिएको हो । सुरुमा खोप उत्पादन गर्ने कम्पनी नजिकैका केन्द्रमा लगाउन सुरु गरिने बताइएको छ । केन्टुकी राज्यका गभर्नर एन्डी वेसियरले सुरुमा लुइसभिले र मेम्फिसमा खोप वितरण गरिने बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी र केयर होमका वृद्धवृद्धालाई खोप दिने बताइएको छ । अमेरिकाले मार्चसम्म १० करोड नागरिक अर्थात् ३० प्रतिशत जनसंख्यालाई खोप दिने तयारी गरेको छ । अमेरिकामा कोरोनाका कारण भन्डै ३ लाख मानिसको मृत्यु भइसकेको छ ।

न्युयोर्क टाइम्सका अनुसार ह्वाइट हाउसका उच्च पदस्थ कर्मचारीलाई सुरुमा खोप दिने योजनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अबेर पछि सारेका हुन् । सो पत्रिकाले सबैभन्दा बढी जोखिममा रहेका वर्गलाई खोप दिनुको साटो ट्रम्प प्रशासनले ह्वाइट हाउसका उच्च कर्मचारीलाई खोप उपलब्ध गराउन लागेको समाचार प्रकाशित गरेको थियो । ‘ह्वाइट हाउसमा कार्यरतले आवश्यक भएको खण्डमा केही समयपछि खोप पाउनेछन्,’ राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटमा लेखेका छन् ।

न्युयोर्कको एक अस्पतालको सघन उपचार कक्षमा कार्यरत नर्स सान्द्रा लिन्डसे फाइजर र बायोएनटेकद्वारा संयुक्त रूपमा विकास गरिएको कोरोना खोप लगाउने पहिलो अमेरिकी स्वास्थ्यकर्मी बनेको रोयटर्सले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस