३० मंसिर, काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । संवैधानिक आयोगहरुमा नियुक्ति गर्ने उद्देश्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक राखेका हुन् ।
सो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा सभागी भएका छन् भने सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएका छन् । विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको परिषद् बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह नगरेको भन्दै सभामुख अनुपस्थित भएका हुन् ।
संवैधानिक आयोगमा प्रधानमन्त्री तथा परिषद् अध्यक्ष ओलीले एकलौटी रूपमा आफूनिकटका व्यक्तिहरूलाई नियुक्तिका लागि सिफारिसको तयारी गरेकाले सभामुख साक्षी बस्न नजाने उनीनिकटका व्यक्तिहरूले बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायत विभिन्न संवैधानिक आयोगमा झण्डै ४५ पद रिक्त छन् । ती पदमा प्रधानमन्त्री ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सहमति जुटाएर नियुक्तिको तयारी गरेका छन् ।
परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । यसअघि आइतबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि गएका थिएनन् । उक्त बैठकमा सभामुख सापकोटा पनि अनुपस्थित थिए ।