३० मंसिर, काठमाडौं । कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा साढे १ अर्ब रुपैयाँ खर्च भएको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को मंसिर १५ सम्म कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट १ अर्ब ४० करोड ३७ लाख रुपैयाँ खर्च भएको छ ।
यो वर्ष कोषमा आम्दानी भने न्यून छ । ५ महिनामा कोषका लागि ४३ करोड २३ लाख ४८ हजार रुपैयाँ आम्दानी भएको छ । कोषमा आर्थिक वर्ष २०७६/७७ बाट १ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ चालु आर्थिक वर्षका लागि आएको थियो । यो वर्ष कोषबाट १ अर्ब ४० करोड रुपैयाँ खर्च भएसँगै अब भने कोषमा मात्र ३८ करोड ४४ लाख ७८ हजार रुपैयाँ बाँकी रहेको महालेखाको तथ्यांकमा उल्लेख छ ।
सरकारको मन्त्रिपरिषदको गत चैत ९ गतेको निर्णय बमोजिम यो कोष सञ्चालनमा आएको थियो । यस कोषमा जम्मा भएको रकम कोरोना रोकथाम तथा उपचारमा खर्च गर्ने, उपचार सामाग्रीको आपुर्ति तथा पूर्वाधार निर्माणमा र सो कार्यका लागि जनशक्ति परिचालनमा खर्च गर्ने भनिएको थियो । तर कतिपयले कोरोना कोषको रकम प्रयोगमै प्रश्न समेत उठाएका छन् ।