
३० मंसिर, मोरङ । प्रहरीले भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २४ सय ६० केजी चिनी सहित चारजना पक्राउ गरेको छ ।
मोरङ धनपालथान गाउँपालिका ४ का सुनील राजवंशीको गोदामअगाडि बरन्डामा भारतको कुवाडीबाट अवैध रूपमा भन्सार छलेर चोरी गरी ल्याई नेपाली बोरामा भरीरहेको (पल्टी गरिरहेको) अवस्थामा चिनी बरामद भएको जिप्रका मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।
पक्राउ पर्नेमा रंगेली नगरपालिका १ का २१ वर्षीय अभिषेककुमार साह, धनपालथान गाउँपालिका २ का १७ वर्षीय दीपककुमार मण्डल, १८ वर्षीय अर्जुनकुमार मण्डल र १९ वर्षीय रुपेश मण्डल छन् ।
चिनी बोक्न प्रयोग गरिएको ३ वटा मोटरसाइकलसहित उनीहरुलाई पक्रेर आवश्यक कारवाहीका लागी भन्सार कार्यालय रानीमा बुझाइएको डिएसपी राईले बताए । मोरङ प्रहरीले सुनवर्सी नगरपालिका–७ गुद्री चोकबाट भन्सार छलेर भारतबाट ल्याएको ट्याक्टर पनि बरामद गरेको छ । १६ लाख मूल्य पर्ने सो ट्याक्टर प्रहरी चौकी बरडंगाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । ‘अन टेष्ट’ सो ट्याक्टर प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ ।