धर्म-संस्कृति / रितिथिति

९ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर आजदेखि खुला

pashupatinath temple

१ पुस, काठमाडौं । कोरोना महामारीका कारण लगाइएको बन्दाबन्दी र जोखिमका कारण ९ महिनासम्म बन्द रहेको पशुपतिनाथ मन्दिर (आज) बुधबारदेखि खुलेको छ । मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेपछि आजबाट मन्दिर खुलेको हो ।

मंगलबार पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको थियो ।

पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर आजबाट खुलेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आजदेखि मन्दिरको पश्‍चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपश्‍चात् पश्‍चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ ।

पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्‍न १२ बजेसम्म मन्दिर खुला गरिनेछ । लामो समयपछि मन्दिर खोलिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस