
१ पुस, काठमाडौं । भोजपुरी फिल्म ‘माही’मा अभिनेत्री नीता ढुंगानाको अभिनय रहने भएको छ । यस अगाडि काजल राघवानीसँग निर्माण युटिले फिल्म अभिनय विषयमा सम्झौता गरेको थियो । तर, उनले विशेष कारणले फिल्म गर्न नसक्ने भएपछि निर्देशक नीता अनुबन्धित भएकी हुन् । नेपाली फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्तले यो फिल्म निर्देशन गर्न लागेका हुन् ।
भोजपुरी स्टार दिनेशलाल यादव ‘निरहुवा’ अभिनित फिल्म ‘निरहुवा चलल लण्डन’ व्यवसायिक रुपमा सफल भएपछि पन्त भोजपुरी स्टारको समेत रोजाइमा पर्न सफल भएका हुन् । उनले भोजपुरी फिल्ममा नेपाली कलाकार र प्रविधिकलाई पनि अवसर दिने गरेका छन् । नीताले यस अगाडि पनि भोजपुरी फिल्ममा काम गरिसकेकी छन् ।
कात्यायन फिल्मस् क्रियशनको ब्यानरमा निर्माण हुने फिल्मलाई अरुण कुमार मिश्र र रितेश वन्दना श्रीवास्तवले निर्माण गर्न लागेका हुन् । फिल्ममा नीताका अलावा आनन्द ओझा, प्रशान्त ताम्राकार, नरेन खड्का, संजय पाण्डे, जुनैद शेख, शिवेश देवनाथ, आयज खान, संजय माहानन्द लगायतका कलाकारको अभिनय रहनेछ ।
ट्युनिसिया, स्कटल्याण्ड र टर्कीमा छायांकन हुने फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, मनिष किशोरको पटकथा तथा संवाद, रामजी लामिछाने र कानु मुखर्जीको नृत्य, ओम झाको संगीत, विरेन्द्र पाण्डे र ड्रेगन प्रकाशको एक्सन रहनेछ । फिल्मको छायाँकन आगामी फेब्रअरीबाट सुरु हुने बताइएको छ ।