विश्व/प्रवास

आप्रवासी कामदार महासन्धी पारित भए नेपाली महिला कामदारहरुलाई राहत

building worker

२ पुस, काठमाडौं । आप्रवासी कामदार महासन्धि पारित भए नेपाली महिला कामदारहरुले राहत पाउने सरोकारवालाहरुले बताएका छन् । आप्रवासी कामदारको अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले आप्रवासी महिला कामदारहरुको हक-हित संरक्षण गर्न महासन्धिले ठूलो सहयोग गर्ने बताएका हुन् ।

महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले महासन्धि अनुमोदन भए सबै आप्रवासी कामदार र तिनीहरुका परिवारका सदस्यहरुको अधिकार संरक्षणमा सहयोग पुग्ने बताए । महासन्धिले कामदार उत्पत्तिको देश र रोजगारीका लागि जाने देशको दायित्व र के गर्ने भन्ने कुरा बोलेकाले अनुमोदनको आवश्यकता रहेको उनले बताए ।

आप्रवासी महिला कामदार समूहका अध्यक्ष विजया राई श्रेष्ठले नेपाली महिला कामदारमाथि समय समयमा हुने प्रतिबन्धले समस्या हुने गरेको बताइन् । प्रतिबन्धका कारण महिला कामदारहरुले धेरै दुःख पाउने गरेको उल्लेख गर्दै उनले महासन्धि अनुमोदन भए पनि महिला कामदारहरुले राहत पाउने बताइन् ।

महासन्धिमा कुनै पनि राष्ट्र छोड्न पाउने र उत्पत्तिको राष्ट्रमा कुनै पनि समयमा प्रवेश गर्न र रहन पाउने अधिकारको संरक्षण गरिएको छ । यस्तै कामदारको बाँच्न पाउने अधिकार, यातना, क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायविरुद्धको अधिकार र दासताविरुद्ध संरक्षणको अधिकार पनि संरक्षण गरिएको छ । कठोर श्रमसहित काराबासको सजाय पाएको अवस्थाबाहेक अन्य अवस्थामा अनिवार्य श्रमविरुद्ध संरक्षणको अधिकार, मान्यता, विवेक र धर्मको स्वतन्त्रतासम्बन्धी अधिकार तथा विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अधिकार पनि समेटिएको छ ।

यस्तै गोपनीयता, पत्राचार र सञ्‍चारमाथिको स्वेच्छाचारी हस्तक्षेपविरुद्ध संरक्षणको अधिकार राष्ट्रको कन्सुलर वा कूटनीतिक निकायबाट संरक्षण तथा सहयोगको याचना गर्न पाउने अधिकार  र रोजगारी राष्ट्रको नागरिकसरह न्यूनतम् रोजगारीको सहुलियत र सुविधा प्राप्त गर्ने अधिकार पनि महासन्धिमा समेटिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस