
३ पुस, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको ‘हटस्पट’सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परीक्षण गर्ने भएको छ । पहिलो चरणमा बढी संक्रमण देखिएका सहरी क्षेत्रमा ३ लाख जनाको परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रमुख विशेषज्ञ एवं कोभिड–१९ स्रोत व्यक्ति (फोकल पर्सन) महेन्द्रप्रसाद श्रेष्ठले यसलाई सहरी क्षेत्रमा व्यापक रूपमा अघि बढाइने जानकारी दिए । कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने आकलन भइरहेका बेला मन्त्रालयले एन्टिजेन परीक्षण गर्न लागेको हो । ‘नयाँ संक्रमित पत्ता लगाउन र संक्रमणको सम्भावित महामारी नियन्त्रणका लागि एन्टिजेन परीक्षण गर्न लागिएको हो’, श्रेष्ठले भने, ‘संक्रमण पुष्टि भएका व्यक्तिलाई तत्कालै आइसोलेसनमा राखिनेछ ।’ यो विधिबाट परीक्षण गरेको आधा घण्टाभित्र परिणाम आइसक्नेछ ।
उनका अनुसार यसका लागि विश्व स्वास्थ्य संगठनले १ लाख र युनिसेफले ५० हजार किट सहयोग गरेका छन् । थप किट खरिद गर्ने प्रक्रिया पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ । ‘पुसभित्र ३ लाख र माघमा ३ लाखको एन्टिजेन परीक्षण गर्ने लक्ष्य छ’, उनले भने । परीक्षणका लागि जनशक्तिलाई तालिम दिइसकिएको छ । उनका अनुसार २ सयभन्दा बढी सक्रिय संक्रमित भएका काठमाडौं, पोखरालगायत ठूला सहर, हटस्पट र घना बस्तीमा पहिले परीक्षण गरिनेछ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले परीक्षण कार्यमा प्रदेश र स्थानीय तहसँग समन्वय गरिने बताए । ‘अहिले संक्रमण घटेको देखिन्छ । वास्तविकता के हो ? के भएर संक्रमण घटेको हो ? यसको तथ्यगत प्रमाण त चाहियो नि’, डा. पाण्डेले भने, ‘रोगको स्थिति कस्तो छ ? सबै थाहा पाउन सजिलो हुन्छ ।’ उनका अनुसार अहिले कोरोना संक्रमणको जोखिम क्षेत्रको नक्सांकन भइरहेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।