
३ पुस, काठमाडौं । सभामुख अग्नि सापकोटाको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । संवैधानिक इजलासमा परेको यो मुद्दा हेर्न नभ्याइनेमा परेको हो । सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ आज हुनेगरी पेसीमा चढाइएको थियो ।
यसअघि पनि २०७६ को फागुन ३० गते पेशी चढे पनि मुद्दा इजलासले हेर्न भ्याएको थिएन । लकडाउनका बेला अदालत बन्द थियो ।
काभ्रेको अर्जुन लामा हत्या प्रकरणमा सापकोटाको संलग्नता रहेको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ सालमा सापकोटाविरूद्ध मुद्दा दायर गरेकी थिइन् । मुद्दा दायर भएका बेला सापकोटा सूचना तथा सञ्चार मन्त्री नियुक्त भएका थिए ।
सापकोटाविरूद्ध पत्रकार कनकमणि दीक्षितले समेत मुद्दा दायर गरेका छन् । दीक्षितले सापकोटा फरार अपराधी भएकाले पक्राउ गर्न माग गर्दै अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए ।
२०६८ सालको असारमा सर्वोच्च अदालतले लामाको हत्यामा सापकोटा संलग्न भएर/नभएको अनुसन्धान गर्न आदेश दिएको थियो ।
२०६२ सालमा काभ्रेमा लामाको अपहरणपछि हत्या भएको थियो । सापकोटाले आफू विरूद्धको मुद्दालाई द्वन्द्वकालीन मुद्दाको रूपमा हेरिनुपर्ने जिकिर गर्दै आरोप अस्वीकार गर्दै आएका छन् ।