समाचार

आ–आफ्नो तागत जाँच्न देशव्यापी गुट भेलामा नेकपाका नेताहरु

oli prachanda nepal

४ पुस, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना समूहका नेता–कार्यकर्ताको गुट भेला गर्न थालेका छन् । ओली समूहले सातवटै प्रदेशमा युवा विद्यार्थीको भेला आयोजना गर्न लागेकै बेला दाहाल–नेपाल पक्षले ससाना समूह बनाएर गुट भेला गरिरहेका छन् ।

महाधिवेशन मिति तोकिए पनि हुनेरनहुने कुनै टुंगो नभएको र शीर्ष नेताहरूबीच विवाद कायमै रहेका बेला दुवै पक्ष देशव्यापी गुट भेला गरेर पार्टीलाई तल्लो तहबाट आफ्नो पक्षमा पार्न कस्सिएका हुन् । दाहाल–नेपाल समूहले सातवटै प्रदेशका इन्चार्ज, प्रदेश अध्यक्ष तथा सचिवहरूको भेला आयोजना गर्न लागेको छ । अहिले वाग्मती प्रदेश र प्रदेश १ को भेला सकिएको छ । दुवै भेलामा दाहाल–नेपालले सम्बोधन गरेका थिए ।

प्रदेश १ को भेलामा वरिष्ठ नेता झलनाथ खनालले पनि सम्बोधन गरेका थिए । सचिवालयमा रहेका नौ सदस्यमध्ये दाहाल–नेपाल समूहमा वरिष्ठ नेता खनाल, उपाध्यक्ष वामदेव गौतम, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसहित पाँचजना रहे पनि गुट भेलामा उपाध्यक्ष गौतम भने उपस्थित भएका छैनन् । उनले आफू पाँच जनाको बैठकमा जाने तर यस्ता गुट भेलामा नजाने भनेर बहिष्कार गरिरहेका छन् । ‘अहिले भेला गर्ने बेला होइन, बैठकबाटै समस्याको समाधान खोज्नुपर्छ,’ गौतमले भने । उनले पाँचजनाको बैठकमा भने सहभागिता जनाउने बताएका छन् । दाहाल–नेपाल समूहको बाग्मती र प्रदेश १ भेलाप्रति उनको असहमति थियो ।

नेताहरूको भेला गरेर दुवै पक्षका शीर्ष नेताहरूले पार्टीमा वारपारको अवस्था आउन लागेको भन्दै आ–आफ्नो तागत जाँच्न पनि भेला सुरु गरेका हुन् । आफ्नो पक्षमा कुनकुन कमिटी बहुमत अल्पमत छ भनेर पनि उनीहरूले आफ्ना समूहका नेताहरूसँग रिपोर्टिङ लिइरहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस