समाचार

वाग्मती सफाइको ३९७औं हप्तामा पशुपति र शङ्खमूलमा सफाइ

bagmati pollution

४ पुस, काठमाडौं । ‘हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको ३९७औं हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ भएको हो ।

आर्यघाट एवं भष्मेश्वरघाट क्षेत्रमा भएको सफाइमा राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली, अभियानकर्मी गङ्गा पुरी लगायतको सक्रियता थियो । घाट क्षेत्रको नदी किनारका दायाँबायाँ फोहर भेटिएको महाअभियानले जनाएको छ ।

यसैगरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरियो । त्यस क्षेत्रको सडकमा जनचेतनामूलक अभियानसहित सफाइ गरिएको उनले जानकारी दिइन् । सफाइमा हनुमान टोल सुधार समितिलगायत स्थानीयवासीको सक्रियता थियो ।

कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी पौडेलले बताइन् । सफाइपछि यही पुस २५ गते ४००औं हप्ताका अवसरमा वाग्मती किनारमा बगैँचा निर्माणको शिलान्यास गर्न उपयुक्त स्थान खोजी गर्ने विषयमा समेत छलफल गरिएको छ । अधिकार सम्पन्न वाग्मती समितिलाई उपयक्त स्थानका लागि पहल गरिदिन पनि सफाइ महाअभियानका तर्फबाट अनुरोध गरिएको छ ।

विष्णुमती सफाइ अभियानको ३२६औं हप्तामा काठमाडौं महानगरपालिका वडा नं १७ खुसीबु क्षेत्रम सफाइ गरिएको छ । शोभाभगवती मन्दिरबाट स्वयम्भूतिर भएको सफाइमा जनचेतनामूलक अभियानसमेत सञ्चालन गरिएको थियो । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज, पातञ्जल योग समिति वाग्मती लगायत संस्थाका गरी ५० जनाभन्दा बढीको उपस्थिति रहेको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए ।

मनोहरा सफाइ अभियानको १९६औं हप्तामा काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित जडिबुटी पुल छेउको कृषि बजार क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट दुई गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले राससलाई जानकारी दिए । यसैगरी गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, चक्रपथको उत्तरी र पश्चिभी खण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी, उपत्यकाका विभिन्न स्थानलगायत देशभर गरी १०६ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ । कोरोना महामारीबाट सुरक्षित रहन गत वर्ष चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएपछि भने नदी किनारका अभियानकर्मी मात्र नदीमा गएर सफाइ गरिँदै आएको छ । अरु अभियानकर्मीले भने आ–आफ्नो टोल क्षेत्रमा सफाइ गर्ने गरेको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस