६ पुस, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटनपछि देश अँध्यारो सुरूङमा फसेको बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन भइ मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको छ ।
राष्ट्रपति भण्डारीले ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनसमेत तोकेकी छन् । सोमबार विहान ट्वीट गर्दै पूर्व पधानमन्त्री समेत रहेका भट्टराईले बैशाखमा चुनाव पनि नहुने ठोकुवा गरे ।
उनले लेखेका छन्, ‘बैशाखमा चुनाव हुनेवाला छैन । देश अँध्यारो सुरूंगमा फसिस्क्यो ।’ संसद विघटनका सन्दर्भमा संवैधानिक/कानूनी उपचारको झिनो आशा भए पनि भर गर्न नसकिने भट्टराईको भनाइ छ । बरु दिगो उपचार राजनीतिक नै भएको उनले बताएका छन् ।
संगठित/एकीकृत/सशक्त जनप्रतिरोध र प्रतिनिधि सभाको बैठक नै दिगो राजनीतिक उपचार भएको भट्टराईको भनाइ छ ।
बैशाखमा चुनाव हुनेवाला छैन।देश अॅध्यारो सुरूंगमा फसिस्क्यो।संवैधानिक/कानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।दिगो उपचार राजनीतिक नै हो:१.संगठित/एकिकृत/सशक्त जनप्रतिरोध;२.प्रतिनिधिसभाको बैठक( जनतामा निहित सार्वभौमसत्ताको प्रयोग;हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)
— Baburam Bhattarai (@brb1954) December 21, 2020