
६ पुस, घोराही । टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले आइसियूमा उपचाररत् थापाको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको जानकारी दिए ।
शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका वडा नं. ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झोलुङ्गे पुलबाट खसेर उनी गम्भीर घाइते भएका थिए । साथीहरूसँग गाडी लिएर उनी पुरन्धारा झरनामा पिकनिक खान गएका थिए । थापा टिकटक बनाउन भन्दै बबई माथिको झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएका थिए । लामो समय झुन्डिएपछि हात गलेर उनी झन्डै २० मिटर तल बगरमा खसेका थिए ।
पुलबाट खसेर बगरमा बजारिएका उनको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चोट पटक लागेको थियो । प्रहरीका अनुसार पिकनिकमा मदिरा सेवन गरेपछि उनी टिकटक बनाउन भन्दै झोलुङ्गे पुलको सपोर्ट तारमा झुन्डिएका थिए । साथीहरुले त्यसो नगर्न आग्रह गर्दागर्दै पनि थापा टिकटक बनाउन भन्दै पुलमा झुन्डिन गएका थिए ।
पुलबाट खरेर गम्भीर घाइते थापालाई उनकै साथीहरूले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि सोही दिन बेलुका सवा ६ बजे थापालाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको थियो ।